Home
गृह पृष्ठ

विश्व एक्काइसौं शताब्दीमा प्रवेश गरिसके पनि नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि अहिले पनि १८ औ शताब्दीको अवस्था भन्दा फरक छैन । मानिसहरुमा रहेको अपाङ्गता प्रतिको नकारात्मक प्रवृत्तिका कारणले उनिहरुलाई एउटा नागरिकको रुपमा उनिहरुको परिवारले आत्मसाथ गरेको छैंन ।

अझ भन्नुपर्दा अन्य सिमान्तिकृत समुदायको अधिकारका लागि काम गरिरहेका संघसंस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुको पीडालाई खासै वास्ता गरेको पाइदैन र उनिहरुको पनि आफ्नो छुट्टै अधिकार छ भन्ने विचारलाई पनि ध्यान गर्दैनन् । शारिरीक अपाङ्गतालाई मात्र ध्यान दिएर काम गर्ने अन्य संस्थाभन्दा फरक यस केन्द्रले आफ्ना कानुनी रुपमा प्राप्त अधिकारको माग गर्न सक्षम बनाउने हेतुले सशक्तिकरण गर्दछ । तर नेपालजस्तो मुलुकमा विशेषगरी मानिसहरुको प्रवृत्ति नै परिवर्तन गर्ने विषय सार्है कठिन छ ।

नेपाल अपाङ्ग मानव अधिकार केन्द्र आफै अपाङ्गता भएका युवाहरुद्वारा सन् २००० मा स्थापना गरिएको हो । रेडियो नेपालबाट हरेक शनिबार प्रसारण हुने "अपाङ्ग आवाज" साप्ताहिक रेडियो कार्यक्रम, हरेक महिना प्रकाशित हुने "अपाङ्ग आवाज" मासिक पत्रिका, स्थानीय स्तरमा रहेका अपाङ्गता भएका व्यक्तिहरु एवं उनीहरुका संस्थाहरुलाई तालिम प्रदान गर्ने जस्ता कार्यहरु यस केन्द्रका नियमित कामहरु हुन् । केन्द्रले अपाङ्गता भएका व्यक्तिहरुलाई कानूनी सहायता प्रदान गर्दछ साथै डिस्याविलिटि इन्ट्रेस्ट लिटिगेसनमा पनि काम गर्दछ ।